बालकुमारी घटनामा मन्त्री ज्वालाको लापरबाही जिम्मेबार : महामन्त्री थापा

काठमाडौं, पुस १६ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाही जिम्मेबार भएको आरोप लगाएका छन्।
सोमबारको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा थापाले उक्त आरोप लगाएका हुन्। आन्दोलनबारे थाहा हुँदाहुँदै त्यही बाटोबाट अगाडि बढने कार्य लापरबाही भएको भनाइ थापाको थियो। थापाले लापरबाही गर्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग पनि गरे।
मन्त्री ज्वालासँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको भनाइ थापाको थियो। ‘गएको साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरबाही हो,’ थापाले भने।
पूर्वमन्त्री समेतरहेका थापाले माइतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्नुपर्ने भनाई पनि राखे। माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको भनाई थापाको थियो। बालकुमारी घटनामा पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने भनाई समेत थापाले राखे।












