Kathmandu Press

माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान आज सकिँदै

जनताको उल्लेख्य सहभागिता रहेपछि माओवादी केन्द्रले अभियान एक महिना थप गरेको थियो। अभियानका क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सहित नेता कार्यकर्ता गाउँगाउँमा खटिएका थिए।
माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान आज सकिँदै

काठमाडौं, पुस १६ : पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा माओवादी केन्द्र ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ आज सकिँदै छ। माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका छ हजार सात सय ३४ वडामा तीन महिने अभियान सञ्चालन गरेको थियो।
 
जनताको उल्लेख्य सहभागिता रहेपछि माओवादी केन्द्रले अभियान एक महिना थप गरेको थियो। अभियानका क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सहित नेता कार्यकर्ता गाउँगाउँमा खटिएका थिए।

चार महिनासम्म सञ्चालित उक्त अभियानको आज सात सय ५३ पालिकामा बृहत् जनपरिचालनसहित समापन गरिने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिए। अभियान समापनका क्रममा पार्टीको गतिविधिको समीक्षा, वर्तमान स्थिति तथा आगामी कार्ययोजनाका बारेमा स्थानीयस्तरमा  छलफल हुने उनले बताए।
 
अभियानबाट पार्टी जनतासँग जोडिएको तथा जनताको असली सहयोगी माओवादी केन्द्र नै हो भन्ने बुझाइ बढेको माओवादी केन्द्रको निष्कर्ष छ। 'अभियानले जनतालाई पार्टीसँग जोडेको छ, टोलटोलमा कमिटी बनेका छन्, निष्क्रिय कमिटी सक्रिय भएका छन्', प्रवक्ता सापकोटाले भने।

Hardik ivf

गत साउनमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टीलाई रुपान्तरण गर्न विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। अभियानअन्तर्गत पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार र पार्टीभित्रको समस्या तथा अन्तर्विरोधको पहिचान, नेता र कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिएको माओवादी केन्द्रले जनाएको छ।
 
अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइने लक्ष्य राखिएको थियो। अभियानको पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिएको थियो।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तक्र्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तक्र्रिया तथा तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिएका पार्टीले जनाएको छ।

प्रकाशित मिति: १२:२० बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्