बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति
दाहालले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको बताइएकाे छ।
काठमाडौं, पुस १५ : सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ।
सत्ता गठबन्धन दलका शीर्ष नेताहरुकाे आइतबार गरिएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले छानबिन आयोग बनाउने बताएका हुन्। दाहालले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको बताइएकाे छ।
साेमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकबाट आयोग गठनकाे टुंगाे लगाएकाे छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए। आयोगले भाेलिबाटै काम थाल्ने बताइएकाे छ।
दुईजना युवाको मृत्यु हुने गरी भएको घटना र त्यहाँ भएको प्रदर्शनलगायतका विषयमा छानबिन गर्न यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर निष्पक्ष अनुसन्धान नहुने भन्दै समितिमाथि प्रश्न उठाइएको थियो ।
पानीजहाज बनाउने कामका लागि भाषा परीक्षामा सहभागी भएका र अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने भन्दै शुक्रबार बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनका क्रममा मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका थिए।
त्यसपछि भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा वीरेन्द्र साह र सुजन रावतको मृत्यु भएको थियो।
हिजो सकिएको कांग्रेसको केन्द्रीय समितिको बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको थियाे।












