मधेसबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार सिफारिस, पहिलाे नम्बरमा ढुंगाना, दाेस्राेमा मन्सुर

काठमाडौं, पुस १५ : नेपाली कांग्रेस मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका नाम सिफारिस गरेको छ। वरिष्ठता, कार्यक्षमता, समावेशिता , समानुपातिकताका आधारमा नाम सिफारिस गरिएको समितिले जनाएको छ।
वरिष्ठताका आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा आनन्दप्रसाद ढुंगाना र दोस्रो नम्बरमा फरमुल्लाह मन्सुरलाई राखएिको छ। केन्द्रीय सदस्यसमेत रहेका ढुंगाना अनुशासन समितिका संयोजक पनि हुन्। समानुपातिकतर्फको बन्द सूचीमा रहेका उनको नाम पछि फिर्ता गरिएको थियो। मन्सुर सहमहामन्त्री हुन्। गत निर्वाचनमा उनी समानुपातिक उम्मेदवार थिए।
प्राथमिकताक्रमसहित पइठाएका अन्य नाममा सर्लाहीका नागेन्द्र कुमार, बाराका राधेचन्द्र यादव, महोत्तरीका रामचन्द्र तिवारी, पसौका रजिन्द्रबहादुर अमात्य र रौतहटका हृदयनारायण यादव पनि छन्। ८ जिल्लाबाट आएका सबै सिफारिसलाई केन्द्रमा पठाइएको मधेस प्रदेश समितिको भनाइ छ।
सबै प्रदेशबाट हालसम्म २७ जना केन्द्रीय सदस्यको नाम सिफारिस भएको कांग्रेसले जनाएको छ। माघ ११ गते २० मध्ये १९ जना सांसदका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। त्यसका लागि पुस २३ लाई उम्मेदवारी दर्ता गर्ने दिन तोकिएको छ। राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको पद पनि खाली हुँदैछ। त्यसमाचाहिँ फेरि मनोनीत नै गरेर पद पूर्ति गरिनेछ।












