Kathmandu Press

‘सहीदलाई सम्झिने वातावरण बनेन’

शनिबार राजधानीमा आयोजित सहीद हरि नेपालको ४४औं स्मृति सभामा उनले सहीदकै योगदानका कारण अहिलेको राजनीतिक अवस्था प्राप्त भएको बताए।
‘सहीदलाई सम्झिने वातावरण बनेन’

काठमाडौं, पुस १४ : सभामुख देवराज घिमिरेले सरकारले सहिदलाई सम्झिने वातावरण सिर्जना गर्न नसकेको बताएका छन्।  

शनिबार राजधानीमा आयोजित सहीद हरि नेपालको ४४औं स्मृति सभामा उनले सहीदकै योगदानका कारण अहिलेको राजनीतिक अवस्था प्राप्त भएको बताए।

‘हरि नेपालको योगदानले गर्दा आज देशमा यो राजनीतिक अवस्था प्राप्त भएको छ । आज यो बाटोमा हामीले श्रद्धा व्यक्त गरिरहेका छाैं,’ उनले भने, ‘अहिले देशमा हामी जुन प्रणालीअन्तर्गत शासन गरिरहेका छौं, जस्तो खालको सरकार छ, यसले सहीदहरुको स्मृतिमा नीजि क्षेत्रबाट उहाँका सहयोगीहरु प्रयत्न गरेर मात्रै होइन सिंगो राष्ट्रले यो अवस्था ल्याउन योगदान गर्ने सहिदहरुलाई सम्झिने वातावरण बनाउनुपर्ने थियो।’

सहीदका विषयमा सरकार जिम्मेवार हुनुपर्ने उनले बताए। सहीदको नाममा के काम गरिएको छ, के योजना बनेका छन् त्यो कसले बनाउने हो, कहिले बनाउने भन्ने प्रश्न गर्दै उनले यसरी हेर्दा यस्ता कामहरुमा ध्यान नगएको पनि बताए।

‘हरि नेपालको योगदानले समाजको अभाव, गरिबी र अवसरको समस्या हल गरेर अगाडि बढ्ने बाटोमा राज्यले भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘पार्टीहरुको दायित्व हुनुपर्छ र यो प्रणालीलाई मजबुत बनाउने समय आएको छ, यही समयमा सहदिहरुलाई सम्झिएर प्रतिकूलताहरुलाई चिर्ने र सकारात्मक काम गर्ने कुरामा यो प्रतिष्ठानले सफलता हासिल गरोस्।’

 

प्रकाशित मिति: १८:३८ बजे, शनिबार, पुस १४, २०८०