बालकुमारी घटनामा ज्यान गुमाउनेका परिवारलाई सरकारले १०/१० लाख दिने, दोषीलाई कडा कारवाही गर्ने
बैठकले घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कडा कारवाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई संयमित र प्रभावकारी बनाउने निर्णय गरेको छ।
काठमाडाैं, पुस १४ : सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई जनही १०/१० लाख रुपैया राहत दिने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
बैठकले उक्त घटनाप्रति दुख व्यक्त गर्दै घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ। सो वापतको रकम अर्थमन्त्रालयले गृह मन्त्रालयलाई निकाशा गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्।
बैठकले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कडा कारवाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई संयमित र प्रभावकारी बनाउने निर्णय गरेको छ।
आगामी दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध रहेकाले यस घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन बैठकले आह्वान गरेको प्रवक्ता शर्माले जानकारी दिइन्। उनले घटनाको छानविनका आधारमा अघि बढ्ने जिकिर गरिन्।
गोली चलाउन आदेश दिने कर्मचारी, डिएसी र मन्त्री प्रकाश ज्वालाको पीएसओलाई निलम्बन गर्ने निर्णय भइसकेको उनले बताइन्। अदालतको पूर्ण फैसला आउने भन्ने कुरालाई पनि राम्रोसँग बुझाउन नसक्दा र भिड उत्तेजित भएर क्षति हुन पुगेकाले उपसचिवलाई पनि निलम्वन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन्।
इपिएस परीक्षामा सहभागी नगराएको भन्दै शुक्रबार बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा वीरेन्द्र साह र सुजन रावतको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाइएको थियो।












