बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०/१० लाख दिने
ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।
काठमाडौं, पुस १४ : सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई १०/१० लाख रूपैयाँ राहत दिने भएको छ। ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', उपप्धान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको जनाइएकाे छ।
बैठकले शुक्रबार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई सोधपुछका लागि गृह मन्त्रालय तान्ने निर्णय पनि गरेको छ।
त्यस्तै मृतकका परिवारले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने निर्णाय पनि गरिएकाे छ। यसबारे शनिबार बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने बताइएकाे छ।
पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरु उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका थिए। आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए। त्यस क्रममा प्रहरीले गोली चलाउँदा उनीहरूको मृत्यु भएको थियो।












