नेकपा एसले भन्यो– सरकारले परिणाममुखी काम गर्न सकेन
तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीको नाममा गरेको सम्बोधनप्रति गम्भीर समीक्षा गरेको उनले बताए।
काठमाडौं, पुस १४ : सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले सरकारले एक वर्षमा परिणामुखीकाम गर्न नसकेको निष्कर्ष निकालेको छ।
एक वर्षभित्र सरकारले जनताको दैनिक जीवनका समस्याहरुलाई स्पर्ष गर्ने, सुशासनको प्रत्याभूति दिने दिशामा अझै धेरै काम हुन बाँकी रहेको देखिएकोले परिणामुखी कार्य नदेखिएको निष्कर्ष निकालेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीको नाममा गरेको सम्बोधनप्रति गम्भीर समीक्षा गरेको उनले बताए।
‘सम्माननीय प्रधानमन्त्रीले देशबासीको नाममा गरेको सम्बोधनको गम्भीर समीक्षा गरिएको छ। एक वर्षभित्र सरकारले केही राम्रो काम गर्ने प्रयास गरेको देखिए पनि जनताको दैनिक जीवनका समस्याहरुलाई स्पर्ष गर्ने, सुशासनको प्रत्याभूति दिने दिशामा अझै धेरै काम हुन बाँकी रहेको देखिएको छ,’ खतिवडाले भने।
परिणामुखी कार्य गर्न अग्रसर हुन सरकारलाई आग्रह गरिएको बताउँदै उनले प्रधानमन्त्रीले अब नयाँ गतिका साथ लोकतन्त्रको सुदृढिकरण गर्दै जनमुखी दिशामा सरकार सञ्चालन गर्ने प्रतिबद्धताको स्वागत गरिएको बताए।
राजनीतिक तथा वैचारिक रूपमा प्रतिवाद गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै सबै अग्रगमनकारी राजनीतिक शक्तिहरूबीच घनिभूत संवाद र सहकार्यको आवश्यकता रहेको पनि उनले बताए ।












