‘दोष अरुलाई देखाएर पन्छिने काम गर्दै नगरौँ’
ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले चालु आर्थिक वर्षका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा देखा परेका समस्या समाधानका लागि नीतिगत एवम् संरचनागत सुधार गर्ने बताए।
काठमाडौं, पुस १४ : आर्थिक विकासको प्रमुख आधार स्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकासका लागि देखिएका समस्या समाधानका लागि सरकारले थप नीतिगत, कानुनी एवम् संरचनागत सुधारमा विशेष ध्यान दिने भएको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित छलफलमा सहभागी उच्च अधिकारीलाई सम्बोधन गर्दै ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले चालु आर्थिक वर्षका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा देखा परेका समस्या समाधानका लागि नीतिगत एवम् संरचनागत सुधार गर्ने बताए।
सरकारले नै ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको सन्दर्भमा यस क्षेत्रमा देखिएका समस्या के कसरी समाधान गर्ने, त्यसका लागि अन्तर निकायबीचको समन्वय र सहकार्यलाई कसरी अगाडि बढाउनेलगायत विषयमा स्पष्ट खाकासहितको विवरण प्रस्तुत गर्न मन्त्री बस्नेतले मातहतका निकायका प्रमुखलाई निर्देशन दिए।
‘हामीले आफ्नोतर्फबाट गर्नुपर्ने सबै खालका प्रयास इमान्दारीपूर्वक गरौँ । समस्या देखिएका क्षेत्रमा समाधानका लागि विशेष पहल गरौँ। नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा कुनै पनि कमी कमजोरी हुन नदिऔँ। जिम्मेवार बनौ । दोष अरुलाई देखाएर पन्छिने काम गर्दै नगरौँ,’ उनले भने।
राष्ट्रिय आवश्यकता र प्रधानमन्त्रीको योजना तथा मन्त्रालयले तय गरेका कार्यक्रम कार्यान्वयन गर्न सकिए उपलब्धी हासिल हुने विश्वास मन्त्री बस्नेतले व्यक्त गरे।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश गर्नुपर्नेमा उनले जोड दिए। मन्त्रिपरिषद्को बैठकले बुढीगण्डकी आयोजनाका लागि पूर्वाधार करको पचास प्रतिशत रकम जम्मा गर्ने निर्णय गरिसकेको उनले बताए।












