बालकुमारी घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उचित छानविनको माग
प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी भएको र तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको हो।
काठमाडौं, पुस १३ : नेपाली कांग्रेसले ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।
प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी भएको र तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको हो।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्तिमार्फत घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न माग गरेका छन्। साथै कांग्रेसले प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग माग गरेको छ।
हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै कांग्रेसले सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल पनि गरेको छ।












