प्रदर्शनकारीले उठाएको मागमा गंभिर बन्न कांग्रेसको ध्यानाकर्षण

काठमाडौं, पुस १३ : नेपाली कांग्रेसले शुक्रवार ललितपुरको बालकुमारीमा भएको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताउँदै सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माद्वारा शुक्रबार जारी विज्ञप्तिमा प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्नसमेत सरकारको ध्यानाकर्षण समेत गराइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ।’
यस्तै कांग्रेसले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न पनि प्रदर्शनकारीलाई आग्रह गरेको छ। यस्तै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन विज्ञप्तिमार्फत अपिल गरिएको छ।
कोरियाली भाषा परीक्षासम्बन्धी विषयलाई लिएर बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा दुईजनाको ज्यान गएको छ। आन्दोलनकारीले विहान भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी समेत गरेका थिए। उक्त घटनाप्रति कांग्रेसले दुःख समेत व्यक्त गरेको छ।












