मन्त्रीहरूले आफूलाई सक्षम प्रमाणित गर्न नसके हात उठाएर बिदा हुनुपर्छ : मन्त्री अशाेक राई

काठमाडौं, पुस १३ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले अब मन्त्रीहरुले आफूलाई सक्षम प्रमाणित गर्न नसके हात उठाएर बिदा माग्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित तिलिङ्गाटार माध्यमिक विद्यालयको ६२औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दैं उनले यस्तो बताएका हुन्।
सुधार गर्नुपर्ने कुराहरुमा ऐन, कानुन संशोधन गर्ने, कार्यशैलीमा सुधार ल्याउने साथै मन्त्रीहरुले आफूलाई सक्षम प्रमाणित गर्नुपर्ने उनले बताए। त्यसो गर्न नसके हात उठाएर बिदा माग्नुपर्ने उनले बताए।
उनले भने, ‘प्रधानमन्त्रीले एक वर्ष कार्यकाल पछि दिएको मन्तव्यमा सुधारको कुरा गर्नुभएको छ। हामीले के कुरामा सुधार गर्नुपर्छ भनेर ध्यान दिन जरुरी छ। सुधार गर्नुपर्ने कुराहरु हामीले ठम्याइसक्यौं। त्यसम्बन्धी लिखित रुपमा पनि तयार हुँदैछ। ऐनकानुन संशोधन गरेर हुन्छ कि कार्यशैलीलाई संशोधन गरेर हुन्छ हामी मन्त्रीहरुले आफूलाई सक्षम प्रमाणित गर्न सकेनौं भने हात उठाएर बिदा माग्न तयार हुनुपर्छ।’
उनले अहिले विद्यालय शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफलमा रहेको भन्दै पहिले कहिल्यै नआएको र भविष्यमा पनि नआउने खाले विधेयक निर्माण हुने दाबी गरे। उनले भने, ‘विद्यालय शिक्षा विधेयक अगाडि बढेको छ। शिक्षा स्वास्थ्य तथा तथा सञ्चार समितिमा दफावार छलफलमा आएको छ। १५२ जनाले संशोधन प्रस्तुत गर्नुभएको छ। मलाई लाग्छ यो विधेयक न पहिले कहिले आएको थियो न भविष्यमा आउला।’
शिक्षामा लगानी न्यूनतमभन्दा पनि न्यून रहेकाले सरकारले शिक्षामा लगानी बढाउन आवश्यक रहेका उनको भनाई छ।












