सरकार अझै चुस्त हुनुपर्छ : सांसद सापकोटा
परिवर्तन विरोधी शक्तिहरुले हल्ला फैलाएजस्तै वर्तमान सरकार असफल र कमजोर नभएको बताए।
काठमाडौं, पुस १२ : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको एक वर्ष सफल भए पनि आउँदो समय थप गतिवान हुनुपर्ने सांसद माधव सापकोटाले बताएका छन्।
बिहीबार राजधानीको संवाद डबलीमा बोल्दै उनले नयाँ भनिएका धरातल विनाका दलहरुको स्टन्ट र हल्ला धेरै समय नटिक्ने ठोकुवा पनि गरे।
माओवादी केन्द्रका युवा नेता सापकोटाले मुद्रा सञ्चिति र व्यापार घाटा घट्टै जानु र वैदेशिक सम्बन्ध बलियो बन्नु, वर्तमान सरकारको सफलताको आधार भएको धारणा राखे। परिवर्तन विरोधी शक्तिहरुले हल्ला फैलाएजस्तै वर्तमान सरकार असफल र कमजोर नभएको बताए।
‘राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्ने हो भने मुद्रा सञ्चिति ह्वात्तै बढेको, व्यापार घाटा क्रमशः सुधार हुँदै गएको, भारतसँग ऐतिहासिक विद्युत व्यापार सम्झौता लगायतले प्रष्ट हुन्छ, प्रचण्ड सरकार अहिलेसम्मको उत्कृष्ट हो,’ उनले भने।
आयल निगम र नेपाल एयरलाइन्सले व्यापार घाटालाई कम गर्दै लगेको र विद्युत प्राधिकरण नाफामा जानुका साथै संस्थानहरुले राजस्व संकलन बढाउनु सरकारको सफलता रहेको उनले दाबी गरे।
सुशासनका लागि समय अनुसार प्रशासनिक निकायलाई चुस्त दुरुस्त राख्नुपर्ने उनको धारणा छ । सापकोटाले भने, ‘हरेक ठाउँमा राजनीतिक भागबन्डाको परम्परालाई तोडेर प्रतिस्पर्धाबाट लग्ने पनि हो, जुन यो सरकारले सुरु गरेको छ ।’












