राजेन्द्र महतोलाई कारबाही गर्ने लोसपाको तयारी
महतोले पार्टीको हित विपरीत गर्दै आएका गतिविधिको बिषयमा गरेको अध्ययन निश्कर्षपछि कारबाहीको तयारी गरिएको हो।
काठमाडौं, पुस १२ : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई अनुशासनको कारबाही गर्ने तयारी गरेको छ।
वरिष्ठ नेता महतोले पार्टीेको हितविपरीत गतिविधि गरिरहेको निश्कर्षसहित अनुशासनको कारबाही गर्ने तयारी भएको हो। महतो अहिले तराई मधेसमा गएर पार्टी र पार्टीका अध्यक्ष ठाकुरको भण्डाफोरमा अभियानमा लागेका छन्।
महतोले पार्टीको हित विपरीत गर्दै आएका गतिविधिको बिषयमा गरेको अध्ययन निश्कर्षपछि कारबाहीको तयारी गरिएको हो। महतोले पार्टीका अध्यक्ष महन्थ ठाकुरको बारेमा आपत्तिजनक टिप्पणी गर्दै आएका छन्।
नेता महतोले पार्टीका नेता एवं मधेसका प्रदेशसभा सदस्य अभिराम शर्मालाई अदालतले जन्मकैदको फैसला सुनाएपछि सरकारबाट पार्टीलाई फिर्ता गर्न अध्यक्ष ठाकुरसमक्ष आग्रह गरेका थिए।
ठाकुरले भने सरकारलाई दिएको समर्थन यथावत रहने र अभिराम शर्माको बारेमा कानुनी उपचार खोज्ने बताउँदै आएका छन्। ठाकुरको अडानप्रति महतो असन्तुष्ट बनेको बताइएको छ। महतोमाथि कारबाही गर्ने निश्कर्षमा पार्टीको बहुमत सदस्य रहेको जनाइएको छ।












