राष्ट्रिय गौरव र प्रमुख आयोजनाको तीव्र कार्ययोजना बनाउन प्रधानमन्त्रीको निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित मन्त्रालयका उच्च अधिकारीसँग सिंहदरबारमा छलफल गर्दै प्रचण्ले उक्त निर्देशन दिएका हुन्।-1702215072.jpg)
काठमाडौं, पुस ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधार आयोजना निर्माणको लागि तीव्र गतिमा कार्ययोजना तयार गर्न निर्देशन दिएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित मन्त्रालयका उच्च अधिकारीसँग सिंहदरबारमा छलफल गर्दै प्रचण्ले उक्त निर्देशन दिएका हुन्।
उनले ‘दुई सिफ्ट’ मा काम गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन्। छलफलकाक्रममा उनले निर्माणाधीन योजनाहरूको वस्तुगत विश्लेषण गरी समस्या पहिचान गर्ने र समाधानको विकल्पसहित तीव्र गतिमा निर्माणको लागि कार्ययोजना तयार गर्न भनेका हुन्।
यस्तै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू समयमै सम्पन्न नहुने र अलपत्र हुने अवस्थालाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने बताए।
आयोजना कार्यान्वयनका क्रममा जग्गा प्राप्ति, रुख–पोल–पाइप लगायतका युटिलिटी हटाउन, स्थानीय निर्माण सामग्री प्राप्ति जस्ता कार्यमा परेका कठिनाइका विषयमा तत्काल कानुनी एवम् प्रक्रियागत झन्झट हटाउका लागि कानुन संशोधन लगायतका काममा विशेष प्राथमिकताका साथ कार्य सम्पादन गर्न पनि निर्देशन दिइएको छ।












