संघीय गणतन्त्र तस्करतन्त्रमा परिणत : अध्यक्ष थापा
-1703749285.png)
काठमाडौं, पुस १२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अहिले संघीय गणतन्त्र भ्रष्टfतन्त्र र तस्करतन्त्रमा परिणत भएको टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित राप्रपा नेपालको मध्यमाञ्चल स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरुको सिन्डीकेटतन्त्र कायम भएको भन्दै थापाले संघीय गणतन्त्र भ्रष्टतन्त्र र तस्करतन्त्रमा परिणत भएको बताए।
उनले भने, ‘लोकतन्त्रको आवरणमा केही राजनीतिक दलहरुको सिन्डिकेटतन्त्र कायम भएको छ। प्रजातन्त्र बलियो हुनुको सट्टा सर्वसत्तावाद हावी भएको छ। संघीय गणतन्त्र भ्रष्टतन्त्र र तस्कर तन्त्रमा परिणत भएको छ। बिदेशी शक्तिहरुको चलखेल र प्रभाव तीव्र रुपले बढेको छ। नेपाल अन्तरराष्ट्रिय महाशक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनेको छ।’
उनले संस्कृतिमन्त्री सुदन किरातीको क्रिष्चियन नमान्ने संविधानविरोधी हुन् भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने,
‘एक सार्वजनिक कार्यक्रममा क्रिष्चियन नमान्ने संविधानविरोधी हुन्। देशद्रोही हुन् जेलमा कोच्नुपर्छ भन्ने अत्यन्तै आपत्तिजनक अभिव्यक्ति जिम्मेवार मन्त्रीले दिए। योभन्दा आपत्तिजनक अरु के हुन सक्छ ?’ उनले भने, ‘९४ प्रतिशत सनातन धर्ममा आस्था राख्नेहरुको विरुद्धको यो षड्यन्त्र हो, अपमान हो। जसको पशुपतिनाथप्रति आस्था छैन, भावनात्मक लगाव छैन्। त्यस्तो व्यत्तिलाई किन त्यहाँको विकास र समृद्धिको जिम्मा दिएको ?’
अध्यक्ष थापाले सनातन धर्म, संस्कृति र परम्परामाथि योजनाबद्ध र संगठित रुपले आक्रमण भइरहेको टिप्पणी पनि गरे। धर्म परिवर्तनको डढेलोले देशलाई तहसनहस पारिरहेको उनको भनाइ छ। उनले भने, ‘हाम्रो सनातन धर्म, संस्कृति र परम्परामाथि योजनाबद्ध र संगठित रुपले आक्रमण हुँदैछ। धर्म परिवर्तनको डढेलोले देशलाई तहसनहस पारिरहेको छ। सामाजिक, सांस्कृतिक सद्भाव र एकता खल्बलिएको अवस्था छ।’
उनले देशमा कायम रहेको संघीय धर्मनिरपेक्षता, गणतन्त्र असफल साबित भइसकेको दाबी गरे।












