पशुपतिबाट हराएकी दुई वर्षीया बालिकाकाे भक्तपुरबाट उद्धार
प्रहरीले बिहीबार बालिकालाई भक्तपुरबाट उद्धार गरेको हाे। बालिकाकाे उद्धारसँगै उनलाई लाने व्यक्तिलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ।
काठमाडौं, पुस १२ : पशुपति मन्दिरको १ नम्बर गेटबाट हराएकी २ वर्षीया बालिका आकिशा सुनुवारकाे उद्धार गरिएकाे छ।
प्रहरीले बिहीबार बालिकालाई भक्तपुरबाट उद्धार गरेको हाे। बालिकाकाे उद्धारसँगै उनलाई लाने व्यक्तिलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ।
बालिकाकी आमाले चलाउँदै आएको चिया पसलबाट बालिका अपहरण परेको भन्दै प्रहरीकहाँ उजुरी परेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले बालिकाकाे खोजी थालेको थियो।
पक्राउ परेका व्यक्ति चिया पसलमा नियमित आइराख्ने गरेकाे बताइएकाे छ। पक्राउ परेका ती व्यक्तिले बालिका आफ्नो छोरी भएको दाबी गरेकाे बताइएकाे छ। अनुसन्धानमा संलग्न एक अधिकृतले बालिका अपहरण गर्ने व्यक्तिकाे मानसिक अवस्था ठीक नभएको जस्तो बुझिएकाे बताएका छन्। ती व्यक्तिलाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएकाे प्हरीकाे भनाइ छ।
सिसी टीभी क्यामरालगायतको सहयोगमा बालिकालाई भक्तपुरबाट उद्धार गरिएको र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।












