मिटरब्याजीले अदालतमै पीडित कुटेपछि जाहेरी दिन रातभर धर्ना, बिहान जाहेरी दर्ता
निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए।
सिरहा, पुस १२ : मिटरब्याजीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि पीडितहरु रातभर धर्ना बसेका छन्।
पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन्।
निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए। बिहीबार बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौलाविरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए।
निरौलामाथि अनुचित लेनदेन विषयमा अदालतमा मुद्दा चलिरहेको छ। उनीमाथि ४ दर्जनभन्दा बढी उजुरी र जाहेरी छ। यसै मुद्दामा पक्राउ परेर गत असारमा तीन लाख धरौटीमा उनी रिहा भएका थिए। सोही मुद्दाको बकपत्रका लागि अदालत गएका पीडितहरूमाथि कुटपिट भएको हो।
निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बु जानकारी दिए।












