Kathmandu Press

भ्रष्टाचार मुद्दामा पूर्वडिआईजी महेशविक्रम शाह दोषी ठहर

विशेष अदालतले शाह र पूर्वसई दिपेन्द्रप्रसाद पनेरुलाई मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप दोषी ठहर गरेको हो।
भ्रष्टाचार मुद्दामा पूर्वडिआईजी महेशविक्रम शाह दोषी ठहर

काठमाडौं, पुस ११ : भ्रष्टाचार मुद्दमा पूर्वडिआईजी तथा साहित्यकार महेशविक्रम शाह दोषी ठहर भएका छन्।

विशेष अदालतले शाह र पूर्वसई दिपेन्द्रप्रसाद पनेरुलाई मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप दोषी ठहर गरेको हो।

यही आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेलाई भने विशेष अदालतले सफाइ दिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार आरोपितमध्ये दुई जनालाई दोषी ठहर गरेको हो।

उनीहरुलाई तीन वर्षभन्दा माथि कैद सजाय हुने निश्चित भएको छ। तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार आगामी २५ पुसमा पेशी तोकिएको छ ।

अख्तियारले २० फागुन २०७६ मा सिन्धुली दुधौलीका समादेशक शाह सहित लेखापाल दीपेन्द्रप्रसाद पनेरु, लेखा सहायक केशव सिंह ऐर लगायतमाथि मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: १९:४५ बजे, बुधबार, पुस ११, २०८०