गणतन्त्रका विरोधीले सरकारका राम्रा काम देख्न सकेनन् : प्रधानमन्त्री
गणतन्त्र विरोधी गतिविधि रोक्न जनतालाई सम्झाउनुपर्ने भनाइ प्रधानमन्त्री प्रचण्डको थियो।
गोरखा, पुस ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरूले नकरात्मक भ्रम फैलाएर जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको भनाइ राखेका छन्।
नेकपा माओवादी केन्द्र विशेष रूपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका पुगेका प्रधानमन्त्री प्रचण्डले उक्त भनाई राखेका हुन्। बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘जनतालाई निराश हुनबाट तपाई हामी सबैले बचाउनुपर्छ। एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन्।’
गणतन्त्र विरोधी यस्ता गतिविधि रोक्न जनतालाई सम्झाउनु बुझाउनुपर्ने भनाइ प्रधानमन्त्री प्रचण्डको थियो। विशेष रूपान्तरण अभियान चलाउनुको मुख्य उद्देश्य पार्टीलाई गतिशील र चलायमान बनाउन मात्र नभई जनतासँगको सम्बन्ध सुदृढ र परिवर्तनको रक्षा गर्नुसमेत रहेको पनि उनले बताए। एक प्रसङ्गमा उनले वर्तमान सरकार र गठबन्धन अहिले झनै बलियो भएको पनि बताए।
‘गठबन्धन पाँचै वर्षसम्म जान्छ, तपाईँहरू ढुक्क हुनुस्’, उनले भने, ‘कसैले कमजोर पार्ने प्रयास गरेपनि त्यो सफल हुँदैन, पाँचै वर्षसम्म सरकारमा हाम्रो बलियो उपस्थिति हुन्छ।’ प्रधानमन्त्री प्रचण्डले माओवादी नेतृत्वको सरकारले मात्र भ्रष्टाचारी, भूमाफिया र तस्करलाई ठेगान लगाउन सक्ने पनिबताए। यस्तै, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण टुङ्गो लागेको र उक्त आयोजना निर्माण हुँदैन कि भन्ने चिन्ता नगर्न समेत पार्टी कार्यकर्ता र सर्वसाधारणलाई आग्रहसमेत गरे।












