पूर्वसहकारी रजिस्ट्रार पराजुली कुश्माबाट पक्राउ

पोखरा, पुस ११ : पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोप लागेका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुलीलाई पक्राउ गरिएको छ।
सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा गत पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो। पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए। कार्यकक्षबाटै पक्राउ गरी पराजुलीलाई प्रहरीले पोखरा पठाउने तयारीमा रहेको छ।
जिल्ला अदालत काश्कीले पक्राउ पुर्जी जारी गरेपछि उनी सम्पर्कविहीन बनेका थिए। कास्कीस्थित मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपसहित चलेको एक मुद्दामा काश्की जिल्ला अदालतले पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकको बयानमा खुलेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। प्रहरी अनुसन्धानका क्रममा एक करोड पाँच लाख रुपियाँ लिएको जनाइएको छ।
मित्रमिलन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका थप पाँच जना अभियुक्तमध्येका व्यक्तिले पराजुलीलाई घुसमा पोलेका थिए। मित्रमिलन सहकारीको सातसय भन्दा बढी बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेका छन्।












