७० वर्षे उमेर हदको पालना नभएकाले सान्दर्भिकता सकियाे : झलनाथ खनाल
केन्द्रीय कमिटीमा युवाहरु ल्याउन वैधानिक व्यवस्था गर्नुपर्ने खनालकाे भनाइ थियाे।
काठमाडौं, पुस ११ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उमेर हदको सान्दर्भिकता नै सकिएको बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले ७० वर्षे उमेर हदको पालना नभएकाले यसको सान्दर्भिकता नै सकिएको बताए।
ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘नवौं महाधिवेशनमा उमेर हद राख्यौं तर युवा नेता नै जन्माउन सकिएन। यसो हेर्दा उमेर हदको सान्दर्भिकता नै सकियो। लागु गर्न सकिएन।’
उनले पार्टीमा अहिले ६० वर्षमाथिका नेताहरु ७२ प्रतिशत रहेकाे बताए। केन्द्रीय कमिटीमा युवाहरु ल्याउन वैधानिक व्यवस्था गर्नुपर्ने खनालकाे भनाइ थियाे।
बैठकमा खनालले २०८४ को निर्वाचनमा वामपन्थी शक्तिलाई सिध्याउने योजना बनिरहेको पनि बताए। ‘कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नतिर लागेनौं भने २०८४ को चुनाव सम्झिनुस्। २०८४ को चुनावमा वामपन्थीहरूलाई धुल्याउने योजना छ। हामीले अहिलेदेखि नै तयारी गर्नुपर्छ नत्र गाह्रो हुन्छ।’












