भिजिट भिसाका नाममा मानव तस्करी अभियोगमा थप १० विरुद्ध मुद्दा

काठमाडौं, पुस ११ : नक्कली कागजात बनाएर भिजिट भिसाका नाममा मानव तस्करीमा संलग्न भएको अभियोगसहित थप १० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। लिखतसम्बन्धी कसुरमा सजायको मागसहित सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गरेको हो।
अदालतमा मुद्दा दर्ता हुनेमा नेपाल एअर लाइन्सको छैटौं तहमा कार्यरत कर्मचारी होमनाथ पोख्रेल, नेपाल वायु सेवा निगमको वरिष्ठ सहायक पदमा कार्यरत कर्मचारी अरबिन्द यादव, बत्तिसपुतलीको ओन्टा ट्रिप अनलाइन ट्राभल्स एजेन्सी प्रालिका सञ्चालक मनुराज चौधरी, एटभिका ट्राभल्स एण्ड टुर्सका सञ्चालक बुद्धबहादुर बल र एटभिकाका अर्का सञ्चालक तथा गुण एअर लाइन्सको सिमरा एअरपोर्ट बाराका स्टेशन म्यानेजर कमलराज हमाल छन्। यस्तै रोलेक्स ट्राभल्स एण्ड टुर्सका सञ्चालक देवराज खनाल, सोही ट्राभल्सका कर्मचारी राजकिशोर साह, अर्का कर्मचारी सञ्जय तामाङलाई पनि मुद्दामा प्रतिबादी कायम गरिएको छ।
यी अयिुक्तलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेर मुद्दा दायर गरिएको हो। अभियोगपत्रमा सुशील तामाङ र सोनु तामाङ नाम गरेका व्यक्तिलाई फरार प्रतिवादी बनाएर पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ। यी दश प्रतिबादीसहित नक्कली कागजताको आधारमा भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा मुद्दा दर्ता हुनेको संख्या २२ पुगेको छ। यसअघि ९ जना पक्राउ प्रतिवादी र ३ जना फरार प्रतिवादी गरी १२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
यसअघि रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ घर भइ हाल विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत शाखा अधिकृत ताराबहादुर कुँवरसहित ३ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। यी प्रतिबादीविरुद्ध लिखतसम्बन्धीका कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ अनुसार कारबाहीको मागदाबी छ। उक्त कानुनी व्यवस्था अनुसार सरकारी तथा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।












