बिरामीको मृत्युपछि बिर्तामोडस्थित मनमोहन अस्पताल तोडफोड
अस्पतालमा उपचारका क्रममा उनको समस्या जटिल बन्दै केही घण्टामै निधन भएको हो । उनको निधनपछि सोमबार साँझदेखि नै परिवार र आफन्त आन्दोलित छन्।(1)-1703597285.jpg)
झापा, पुस १० : उपचाररत एक बिरामीको मृत्यु भएपछि उनका आफन्तले मंगलबार झापाको बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा तोडफोड गरेका छन्।
बिर्तामोड नगरपालिका–९ की ३५ वर्षीया नर्वदा घिमिरेको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले आफन्तले अस्पतालमा ढुंगा प्रहार गरे। घटनामा अस्पताल भवनका सिसा फुटेका छन् । उनीहरुले केहीबेर पूर्वपश्चिम राजमार्गमा यातायात आवागमन पनि अवरुद्ध पारेका थिए।
आफन्त दुर्गा पाठकका अनुसार घुँडा दुख्ने र सुन्निने समस्या देखापरेपछि नर्वदा सोमबार बिहान अटोरिक्सा चढेर सामान्य अवस्थामै अस्पताल आइपुगेकी थिइन्। अस्पतालमा उपचारका क्रममा उनको समस्या जटिल बन्दै केही घण्टामै निधन भएको हो । उनको निधनपछि सोमबार साँझदेखि नै परिवार र आफन्त आन्दोलित छन्।
इमरजेन्सीमा भर्ना गरेको तीन घण्टासम्म पनि डाक्टरले चेकजाँच नगरेको पाठकको आरोप छ । दुखाइ कम गर्न नर्सले इन्जेक्सन लगाएपछि उनलाई झन समस्या भएको थियो। एक्कासी जीउ पोल्ने र दुख्ने भएपछि बिरामीका आफन्तले चिकित्सक बोलाइदिन आग्रह गरेका थिए।
बिहान ८ बजे भर्ना भएकी बिरामीको अवस्था जटिल भएपछि ११ बजे मात्र चिकित्सकले चेकजाँच सुरु गरेका थिए। उनलाई डाक्टर सुवेश सौरभले जाँच गरेका थिए।
बिरामीको अवस्था जटिल बन्दै गएपछि सुविधासम्पन्न अस्पतालमा रेफर दिन आग्रह गर्दासमेत अस्पतालले अटेर गरेको घिमिरेका आफन्तको आरोप छ।
डाक्टरले समय नदिँदा उनले अकालमा ज्यान गुमाएको पीडित परिवारको दाबी छ । मृतकका नाबालिग छोराछोरीलाई न्याय दिनुपर्ने माग उनीहरुको छ। मंगलबार दिनभरजसो भएको वार्ता सहमतिमा पुगेको छैन।
नर्वदाको शव आफन्तले बुझेका छैनन् । अस्पतालले उपचारमा कमजोरी भएको भनेर क्षमायाचना नगर्दा छलफल निष्कर्षमा नपुगेको आफन्तले आरोप लगाएका छन्।












