विश्वविद्यालयमा अब राजनीतिक भागबण्डा हुँदैन : प्रधानमन्त्री
संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्ने भनाई पनि उनले राखे। उनले अब विश्वविद्यालयमा मेरिटोक्रेसी सुरु हुने बताए।
काठमाडौं, पुस १० : देशवासीका नाममा संवोधन गर्नेक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका छन्।
‘म दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभंगताको अपील गर्दछु। अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन, विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि हुनेछन्’, उनले भने, ‘मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुने छैन।’
संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्ने भनाई पनि उनले राखे। उनले अब विश्वविद्यालयमा मेरिटोक्रेसी सुरु हुने बताए।
‘त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थानबिन्दु बन्नेछ । नेपालका विश्वविद्यालयहरू रित्तिँदै जाने, युवा जनशक्तिसँगै पूँजी पनि पलायन हुने डरलाग्दो अवस्था अन्त्य गर्न तथा शिक्षामा गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न बहुआयामिक कदम चालिँदैछ’, प्रधानमन्त्री दाहालले भने।
विद्यालय शिक्षालाई प्रभावकारी बनाउन अति जरूरी रहे पनि सात वर्षदेखि कसैले हिम्मत नगरेको भनाई समेत प्रधानमन्त्रीको थियो। उनले यसैका लागि शिक्षा विधेयक संसदमा पेश गरेको उनले बताए। यसै शैक्षिक वर्षभित्र शिक्षक विद्यार्थी अनुपातमा सुधार गरिने जानकारी पनि उनले दिए।
सात प्रदेशमा सुविधायुक्त स्टुडियो निर्माण गरी दुर्गम र दक्ष शिक्षकको अभाव भएका स्थानीय तहहरूमा रहेका विद्यालयमा आगामी शैक्षिक वर्षदेखि नै सूचना प्रविधिको माध्यमबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरु गरिने भनाई उनको थियो।
चिकित्सा शिक्षालाई सस्तो र आम जनताको पहुँचमा पु¥याउन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालहरूमा नर्सिङ, प्यारामेडिक्स लगायतका शैक्षिक कार्यक्रम सञ्चालनको गृहकार्य भइसकेको प्रधानमन्त्री दाहालले बताए।
सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई ५ सय शय्याको अत्याधुनिक अस्पतालका रूपमा विकास गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको, प्रादेशिक प्रयोगशालासँगै सरकारी अस्पतालका प्रयोगशालाहरूको शुल्कमा एकरूपता कायम गर्न शुरुवात गरिएको, ज्येष्ठ नागरिकका लागि विशेष स्वास्थ्य सेवा सुनिश्चित गर्न ९४ अस्पतालमा जेरियाट्रिक वार्ड स्थापना गरिएको जानकारी समेत उनले दिए।










