अब सरकारले कार्यशैली बदलेर काम गर्छ : प्रधानमन्त्री दाहाल
अब केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कुनै कार्यक्रममा नगइ नयाँ नीति तथा कार्यक्रम, बजेटको तयारी एवम् विकास र सुशासनमा देखिएका समस्याको समाधानमा लाग्ने उनले अठोट गरे।
काठमाडौं, पुस १० : प्रधानमन्त्री पुष्पकमल दाहालले अब सरकारले आफ्नो कार्यशैली बद्लेर काम गर्ने बताएका छन्।
आफू नेतृत्वको सरकारको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकीको चिन्तामा आफू रहेको भन्दै अब सरकारले कार्यशैली बदलेर काम गर्ने बताएका हुन्।
अब केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कुनै कार्यक्रममा नगइ नयाँ नीति तथा कार्यक्रम, बजेटको तयारी एवम् विकास र सुशासनमा देखिएका समस्याको समाधानमा लाग्ने उनले अठोट गरे।
प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकार असफल नभएपछि आफ्नै हुटहुटी अनुसारको परिणाम भने नआउको बताए।
‘म यो सम्बोधनबाट देशवासीहरुसामु स्वीकार त गर्छु, सरकार असफल त भएन तर मेरो आफ्नै हुटहुटी अनुसारको परिणाम पनि आएको छैन। म बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु,’ उनले भने, ‘देश कति बन्यो भन्दा पनि कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक गर्न चाहन्छु, अब सरकारको कार्यशैली बद्लिने छ। केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कुनै कार्यक्रममा नगइ नयाँ नीति तथा कार्यक्रमको बजेटको तयारीमा एवम् विकास र सुशासनमा देखिएका समस्याको समाधानमा लाग्ने छु।’
उनले भारतसँग मात्र नभएर बंगलादेशसँग पनि विद्युत व्यापारको एकदम नजिक पुगेको बताए। नेपालबाट बंगलादेशमा ४० मेगावटसम्म विद्युत निर्यात गर्ने त्रिदेशीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुन लागेको उनले जानकारी गराए । देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमा यसअघि कहिल्यै पुगेको थियो भन्दै उनले प्रश्न गरे।
‘भारतसँग मात्र नभएर बंगलादेशसँग पनि हामी विद्युत वयापारको एकदम नजिक पुगेका छौं। नेपालबाट बंगलादेशमा ४० मेगावटसम्म विद्युत निर्यात गर्ने त्रिदेशीय विद्युत व्यापारमा हस्ताक्षर हुँदैछ,’ प्रधानमन्त्री दाहालले भने, ‘म निराशाावादीसँग सोध्न चाहन्छु, हाम्रो देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमा यसअघि कहिल्यै थियो र? बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा छ । के यो लोकतन्त्रको उपलब्धी होइन?’
उनले नेपाली समाजमा देशमा केही हुँदैन र छैन भन्ने भ्रम चलाएकोप्रति चिन्ता व्यक्ति गरे। नकारात्मक भावनाले सम्भव काम पनि असम्भव बनाइरहेको भन्दै आफ्नै छेउको उज्यालोलाई पनि पत्याउन छाडेको उनको भनाइ थियो।










