भुटानी शरणार्थी नेता टेकनाथ रिजालले बुझाए १५ लाख रुपैयाँ धरौटी रकम, पर्सि मात्रै थुनामुक्त हुने
आज (सोमबार) र भोलि (मंगलबार) सार्वजनिक बिदा परेकाले बुधबार मात्रै उनी रिहा हुने जनाइएको छ।
काठमाडौं, पुस ९ : भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका छन्। तोकेको धरौटी रकम बुझाएकाले उनी बुधबार मात्र रिहा हुने बताइएको छ।
आइतबार दिउँसो अदालतबाट छुट पुर्जी पनि लिएका उनी कार्यालय समय सकिएकाले सोही दिन रिहा हुन नपाएको कारागार स्रोतको भनाइ छ। आज (सोमबार) र भोलि (मंगलबार) सार्वजनिक बिदा परेकाले बुधबार मात्रै उनी रिहा हुने जनाइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउनुपर्नेछ।शरणार्थी प्रकरणका आरोपीसँग ती दुई निकायले पनि अनुसन्धान गरिरहेका छन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा काठमाडौं जिल्ला अदालतले रिजाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि उच्च अदालत पाटनले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अरु आरोपी धरौटी रकम बुझाएर यसअघि नै रिहा भए पनि रकम बन्दोबस्त गर्न नसक्दा रिजाल थुनामै थिए।












