क्रिश्चियन धर्मावलम्बीले मनाए क्रिसमस डे पर्व

काठमाडौं, पुस ९ : नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले सोमबार क्रिसमस डे पर्व मनाएकाछन्।
अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष डिसेम्बर २५ मा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाएका हुन। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ।
येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ। ख्रीष्टमस पनि भनिने यस दिनका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिएको छ।
क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ। क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिनुभएको छ। क्रिसमस डे का अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा समेत दिएको छ।
क्रिसमसका अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ। बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ।












