युवा शक्ति बाहिरिँदा मुलुकलाई क्षति : मन्त्री साउद
‘हामीसँग भएको क्षमता शक्ति बाहिर जाँदा मुलुकलाई क्षति भइरहेको छ। कुनै पनि देशको समग्र जनसंख्याभित्र युवा जनशक्तिको हिस्सा धेरै हुन्छ। देशले विकास गर्ने समय त्यही नै हो। त्यही समयमा नै देशले आर्थिक विकास गर्न सक्छ’
काठमाडौं, पुस ९ : परराष्ट्रमन्त्री एनपी साउदले युवा शक्ति बाहिर जाने क्रम बढ्दा मुलुकलाई क्षति भइरहेको बताएका छन्। आज काठमाडौंमा आयोजित विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘हामीसँग भएको क्षमता शक्ति बाहिर जाँदा मुलुकलाई क्षति भइरहेको छ। कुनै पनि देशको समग्र जनसंख्याभित्र युवा जनशक्तिको हिस्सा धेरै हुन्छ। देशले विकास गर्ने समय त्यही नै हो। त्यही समयमा नै देशले आर्थिक विकास गर्न सक्छ’ उनले भने, ‘त्यसकारण हाम्रो देशको विकास हुने समय पनि यही हो।’
एउटा बच्चालाई कस्तो बनाउने भन्ने कुरा विद्यालय, परिवार र समाजको हातमा हुने उल्लेख गर्दै मन्त्री साउदले क्षमतावान जनशक्ति समाजमा निर्माण गर्न सके राज्यको काममा पनि परिणाम राम्रो हुने बताए। ‘अहिलेको नयाँ पुस्ताको प्रवेश कर्मचारीतन्त्र र राज्य व्यवस्थामा जरुरी छ’ उनले भने।












