‘विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छ’
न्युज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठुलो परिवर्तन आएको बताए।-1702733301.jpg)
काठमाडौं, पुस ७ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताएका छन्। न्युज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठुलो परिवर्तन आएको बताए।
'प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अंगका रुपमा राज्यले मान्यता दिएको छ,' परराष्ट्रमन्त्रीले भने। उनले संविधान जारी गरेपछि तीनै तहको निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियशाील भएको बताए। उनले जलवायु परिवर्तनको मुद्दा र शान्ति प्रक्रियालाई टुंगाे पुर्याएको विषयमा नेपालले विश्वसँग स्पष्ट ढंगले कुरा गरेको स्पष्ट पारे।
फरक प्रसंगमा परराष्ट्रमन्त्रीले आतंकवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताए।
नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले राज्य सञ्चालनमा धेरै समस्या भएको भन्दै ती समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले समुन्नत मुलुक निर्माणको ‘एजेण्डा’ नेपाली सञ्चार माध्यमले उठाउनुपर्ने बताए।
नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेले बिदेसिएका नेपालीको पीडालाई नेपाली सञ्चार माध्यमले गहन प्रस्तुत गरेकामा आभार व्यक्त गरे। रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले दैनिक हजारौं युवा मुलुकबाट बाहिरिएका भन्दै उनीहरूलाई स्वदेशमै रोजगारीको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताए।











