Kathmandu Press

प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुन नल्याए सिंहदरबार घेर्ने महामन्त्री शर्माकाे चेतावनी

प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुन नल्याए सिंहदरबार घेर्ने महामन्त्री शर्माकाे चेतावनी

काठमाडाैं, पुस ७ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुन नल्याए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्। सबै प्रदेशका सम्मेलनमा कानून अभावको गुनासो सुनिएको भन्दै उनले कांग्रेस महासमिति बैठकसम्म पनि प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।

‘आज प्रधनमन्त्रीजीलाई म यहीँबाट, नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदै गर्दा प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन आएन भने महासमिति बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्न प्रदेशका साथीहरुसँगै उपस्थित हुनेछौं,’ उनले भने । कांग्रेसको महासमिति बैठक यही पुसको १६ देखि १९ गतेसम्मका लागि तोकिएको छ।

कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले प्रदेशलाई बलियो बनाए मात्रै संघीयता बलियो हुने धारणा राखे। प्रदेशलाई अधिकार सम्पन्न बनाउनु असम्भव काम नभएको आशय व्यक्त गर्दै उनले भने, ‘अन्तरिक्ष यान बनाएर ल्याएर हाम्रो हातमा देऊ भनेको होइन, अक्षरहरुले लेखिएको एउटा पुस्तक मागेको हो, कानुन मागेको हो, अधिकार मागेको हो, त्यो दिन सकिन्छ कि सकिँदैन? दिन नसकिने हो भने कारण के छ?’

निजामती सेवा, लोकसेवा आयोग, पहरी र केही आर्थिक अधिकारसँग सम्बन्धित कानुन नहुँदा प्रदेशलाई अप्ठेरो परेको भन्दै शर्माले कांग्रेसको महासमिति बैठकसम्म ती कानुन नबने प्रदेशका नेताहरुसँगै आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका हुन्।

प्रकाशित मिति: १६:०४ बजे, शनिबार, पुस ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्