पार्टीमा मेलमिलाप गर्दै सहयोगी भावना विकास गर्नुपर्ने देउवाको भनाइ

काठमाडौं, पुस ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा मेलमिलाप गर्दै एकअर्कालाई सहयोगको भावना विकास गर्नुपर्ने बताएका छन्। देउवाले काँग्रेसमा कुनै अपेक्षा नगरी पार्टीका लागि योगदान गर्ने नेता तथा कार्यकर्ता रहेको पनि बताए।
काठमाडौंमा आयोजित वाग्मती प्रदेश सम्मेलनलाई शनिबार संबोधन गर्दै सभापति देउवाले उक्त भनाई राखेका हुन्। पार्टीमा कुनै अपेक्षा नगरी पार्टीका लागि योगदान गर्ने नेता तथा कार्यकर्ताप्रति आफ्नो सम्मान रहेको पनि उनले बताए। संवोधनका क्रममा देश अहिले संक्रमणकालमा उभिएको भनाई पनि राखे।
कांग्रेस नेतृत्वदायी भूमिकामा रहेर समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेको स्मरण पनि देउवाले गराए। देउवाले भने, ‘साथीहरूको त्याग तपस्या र बलिदानले ठूलो पार्टी बन्न सकेको छ। ग्रासरुटदेखि नै बलियो बनाउन सबै साथीहरू लाग्नुहुनेछ।’
पार्टीमा जितहार स्वाभाविक भएको बताउँदै सभापति देउवाले हार्नेले जित्नेलाई सहयोग गर्नुपर्ने भनाई समेत राखे। ‘अहिलेको अवस्थामा हाम्रा साथीहरुबिच मेलमिलाप हुन जरुरी छ। अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ। आज जित्नेले पनि भोलि सधैँ जितिरहिन्छ भन्ने हुँदैन,’ सम्मेलनमा सभापति देउवाले भने, ‘जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको मनोमानिल्यलाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ।’
कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर नेपाललाई समावेशी समानुपातिक व्यवस्था र लोकतान्त्रिक व्यवस्था नेपालमा स्थापित गराएका कारण आदीवासी जनजाती, अपाङ्गता भएकाहरुको प्रतिनिधित्व हुने व्यवस्था भएको पनि उनले बताए।
अहिलेको व्यवस्थामा कुनै पनि पार्टीको बहुमत नआउने भएपनि कांग्रेस ठूलो पार्टी भएको भनाई देउवाको थियो। ‘ग्रास रुट’ देखि नै कांग्रेसलाई बलियो बनाउन कांग्रेस एकजुट हुनुपर्ने आवस्यकता पनि उनले औंल्याए। ‘बागमती प्रदेशका नेताहरुले अझ बढी नेतृत्वदायी भूमिकामा बसेर सबै नेपालीहरुलाई नेतृत्व दिनेगरी काम गर्न म आग्रह गर्दछु,’ देउवाले भने।











