‘अंगदानका निम्ति सबैले प्रोत्साहित गरौं’
मानव अंग प्रत्यारोपणका विज्ञ एकैठाउँ भेला भएर प्रत्यारोपणसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान एवं प्रत्यारोपण क्षेत्रका चुनौती सम्बोधन गर्न सम्मेलन सहयोगी हुने प्रधानमन्त्रीले बताए।
काठमाडौं, पुस ७ : प्रधानमन्त्री पुष्पकमल दाहालले मानव अंगदान र प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न अपिल गरेका छन्।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अंगदानका लागि प्रेरित गर्नुपर्ने बताए
‘सबै दाजुभाइ दिदीबहिनीमा म आह्वान गर्दछु– अंगदान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मिर्गौला, मुटु, फोक्सोलगायत अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो,’ प्रधानमन्त्री दाहालले भने, ‘तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछु।’
सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाका दृष्टिले महत्वपूर्ण एवं रचनात्मक हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले नेपालको अंग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलता सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताए।
मानव अंग प्रत्यारोपणका विज्ञ एकैठाउँ भेला भएर प्रत्यारोपणसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान एवं प्रत्यारोपण क्षेत्रका चुनौती सम्बोधन गर्न सम्मेलन सहयोगी हुने प्रधानमन्त्रीले बताए।
सामूहिक छलफलका आधारमा सम्मेलनले दिने सुझाव र निकाल्ने निष्कर्ष स्वास्थ्य सेवामा गुणात्मक रूपान्तरणका निम्ति महत्वपूर्ण हुने उल्लेख गर्दै उनले सम्मेलनका सुझाव र निष्कर्षअनुसार यस क्षेत्रमा गर्नुपर्ने सुधारका निम्ति सरकार प्रतिबद्ध रहेको बताए।
दोस्रोपटक प्रधानमन्त्री भएका बेला राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्रीले गत वर्ष पनि यसबारे पुनः प्रतिबद्धता व्यक्त गरिसकेको दोहोर्याए। उनले भने, ‘मेरो यही कार्यकालमा यससम्बन्धी बाँकी काम टुंगोमा पु¥याउन सरकार प्रतिबद्ध छ।’
मस्तिष्क मृत्युपछि अंगदान गर्नेसम्बन्धी विषयमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको प्रयास सराहनीय रहेको प्रधानमन्त्रीको भनाइ थियो।
शरीरका विभिन्न अंग फेल भई मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउने महान् अभियानलाई प्रवर्द्धन गर्न सरकारको तर्फबाट सम्पूर्ण किसिमले साथ र सहयोग रहने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरे।











