नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक ४ घण्टा बन्द हुने
पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो। चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन्।
चितवन, पुस ७ : नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ।
पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो। चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन्।
नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०:४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०:३० बजेसम्म मात्र चलाउन पाइने छ।
काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०:५५ सम्म तथा मालवाहक सवारी सधान १०:४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए।
पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०:५५ बजेदेखि बेनीटारदेखि पावर हाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०:४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ। पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ।
गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताए।











