प्रधानमन्त्रीलाई काम गरेर देखाउन कांग्रेस महामन्त्री थापाको आग्रह
पुस १० गते प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको भन्दै कांग्रेस नेता थापाले आगामी माघ १० गतेसम्म एकपटक पनि कतै केही नबोली काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गरे।
उदयपुर, पुस ६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न सोध्ने बेला भएको बताएका छन्।
नेपाली कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई आज कटारीमा सम्बोधन गर्दै उनले एक वर्षभित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने बेला आएको बताए।
पुस १० गते प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको भन्दै कांग्रेस नेता थापाले आगामी माघ १० गतेसम्म एकपटक पनि कतै केही नबोली काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गरे।
‘माघ १० गतेसम्म केही उद्घाटन गर्दिनँ, शिलान्यास गर्दिनँ, केही बोल्दिन बिहानदेखि बेलुकासम्म काम गर्छु भन्नुभएको छ,’ महामन्त्री थापाले भने, ‘हामीलाई बोल्ने मात्रै मान्छे होइन काम गर्ने मान्छे चाहिएको छ।’
२०६० देखि आन्दोलन सफल होला, संविधान बन्दा देशमा केही होला भनेर पर्खिएका जनता अहिलेसम्म निराश रहेको नेता थापाको भनाइ थियो। ‘त्यसैले हामीले अब कामको परिणाम देखाउनुपर्छ,’ उनले भने, १२०८४ को चुनाव हारिएला भन्ने होइन, चुनाव हारे पनि केही हुन्न, तर जनतालाई कामको परिणाम देखाउन कांग्रेसले केही गर्नुपर्छ।’
भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने कांग्रेसको दायित्व रहेको उनले बताए।
सोही कार्यक्रममा कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्गदेम्बेले कांग्रेसले देशलाई अप्ठ्यारो पर्दा भरोसा दिनुपर्ने बताए। उनले गणतन्त्र, सङ्घीयता, समावेशिता, लोकतन्त्रमाथि कुदृष्टि राख्नेप्रति सचेत हुनुपर्ने बताए।











