Kathmandu Press

आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा

जनताका दैनिक आधारभूत आवश्यकतालाई सहज र सरल बनाउनेदेखि संसारसँग प्रतिस्पर्धा गरेर डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्त्वपूर्ण आधार हो भन्नेमा सरकार स्पष्ट रहेको उनले बताइन्।
आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा

काठमाडौं, पुस ६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण जरुरी रहेको बताएकी छिन्। ‘डिजिटल इकोसिस्टम’ निर्माणका लागि सरकार नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नतिर लागेको उनले जनाइन्।

‘आइसिटी अवार्ड’लाई सम्बोधन गर्दै सरकारका प्रवक्ता शर्माले सूचना तथा सञ्चार प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रूपमा सरकारले लिएको स्पष्ट पारिन्।

जनताका दैनिक आधारभूत आवश्यकतालाई सहज र सरल बनाउनेदेखि संसारसँग प्रतिस्पर्धा गरेर डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्त्वपूर्ण आधार हो भन्नेमा सरकार स्पष्ट रहेको उनले बताइन्।

‘हामीले अन्य उद्योगधन्दा खोल्यौं भने आजको आजै विश्वसँग प्रतिस्पर्धा गर्न सक्दैनौं तर सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा निर्यात गरेर हामीले विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने विगत केही वर्षयताका अनुभवबाट पुष्टि भइसकेको छ,’ उनले भनिन्, ‘यसलाई अझै बढाउँदै सूचना प्रविधिलाई डिजिटल अर्थतन्त्र निर्माणको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्छ । अब यस क्षेत्रमा सामान्य सुधार होइन ‘डिपार्चर’ नै गर्नुपर्छ भन्ने मान्यता सरकारको छ।’

यही वर्ष पहिलोपटक साइबर सुरक्षा नीति, २०८० पारित गरेर त्यसलाई कार्यान्वयन गर्न साइबर कानुन निर्माण र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पहल अघि बढाएको मन्त्री शर्माले बताइन्।

प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्