चुनढुंगा उत्खनन भ्रष्टाचार प्रकरणमा अख्तियार सर्वोच्चमा
अनुमति पत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगी र सरकारी कर्मचारीविरुद्ध दायर मुद्दामा गत चैतमा विशेष अदालतले सफाई दिएको थियो।
काठमाडौं, पुस ६ : विशेष अदालतबाट चुनढुंगा उत्खननको भ्रष्टाचार मुद्दामा सफाइ पाएका आरोपितहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
अनुमति पत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगी र सरकारी कर्मचारीविरुद्ध दायर मुद्दामा गत चैतमा विशेष अदालतले सफाई दिएको थियो। राजस्व असुल नगरी राज्यको सम्पत्तिमा हानी पुर्याएको आरोपसहित १८ जनामाथि मुद्दा चलाइएको थियो। राज्यकोषमा ठूलो रकम नोक्सानी गरेको प्रतिबादीलाई सफाई दिएको प्रश्न उठाउँदै विशेषको फैसला उल्ट्याउन अख्तियारले सर्वोच्च अदालत समक्ष माग गरेको छ।
विशेष अदालतले गत चैतमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका सहित १८ जनालाई सफाई दिएको थियो।अख्तियारले भने २०७८ सालमा उनीहरु विरुद्ध एक अर्ब २६ करोड १९ लाख रुपैयाँ राज्यकोषमा नोक्सान पारेको दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो।
विशेष अदालतको फैसला अनुरुप मुरारकासहित खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, माइनिङ इञ्जिनियर जयराम घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इञ्जिनियरहरु प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी, भूगर्भविद डा. सौनक भण्डारीले सफाइ पाएका थिए।
यस्तै, सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, मारुती सिमेन्ट लिमिटेडका शरद गोयल, अन्नपूर्ण क्वायरिजका ऋषि अग्रवाल, उदयपुर मिनरल्सका प्रबलजंग पाण्डे, युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्सका निपेश तायल, कञ्चभन क्वेरिजका भीमबहादुर थापा क्षेत्री र डोलोमाइट चुनढुंगा उद्योगका मानबहादुर श्रेष्ठले पनि विशेष पाएका थिए।











