धनुषाको हंसपुरमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गोलीबाट दुई जना घाइते

जनकपुरधाम, पुस ६ : धनुषाको हंसपुरमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्।
हंसपुर नगरपालिका–५, सुगानिकासस्थित इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। स्थानीयको आक्रमणबाट घाइते भएका व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिएर मृत्यु भएको एक घटनालाई लिएर तनाव सिर्जना भएको हो।
आक्रोशित स्थानीयले प्रहरी चौकी घेराउ गर्न गएका थिए। उनीहरुले नियन्त्रणमा लिएर कुटपिटपछि मृत्यु भएको आरोप प्रहरीमाथि लगाएका छन्।
भीडलाई तितरवितर पारी आत्मरक्षाका निम्ति हवाईफायर गर्नेक्रममा गोली लागेको दाबी प्रहरीले गरेको छ। स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेको भनाई समेत प्रहरीको छ। गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते अन्सारीको बायाँ पाखुरामा र मण्ड़लको दाहिने हातमा गोली लागेको जनाइएको छ। स्थानीयले झडपकाक्रममा अरु पनि घाइते भएको बताएका छन्।
स्थानीयको भीडले नेपाल प्रहरी र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल समेत जलाई दिएका छन्। गोली लागेर घाइते अन्सारीको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अर्का घाइते मण्डललाई भने थप उपचारका निम्ति काठमाडौं पठाइएको छ।











