Kathmandu Press

‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि गरिएका कार्य सफल’

प्रधानमन्त्री दाहालले मिटर ब्याजीहरूबाट पीडितका विषयलाई सम्बोधन गरिएको, नागरिकतासम्बन्धी समस्या समाधान गरिएको एवं सामाजिक न्याय स्थापनाका लागि भएका प्रयासहरू वर्तमान सरकारका महत्त्वपूर्ण कार्य भएको उल्लेख गरे।
‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि गरिएका कार्य सफल’

मोरङ, पुस ५ : प्रधानमन्त्री पुष्पकमल दाहालले सुशान स्थापना र सामाजिक न्यायका लागि सरकारले अगाडि बढाएका कामहरू सफल भएको बताएका छन्।

विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकारले सुशासनका पक्षमा महत्वपूर्ण कदम चालेको बर्ता।

‘सुशासन कायम गर्न सरकारले महत्त्वपूर्ण कदम चालेको छ, सामाजिक न्याय र समृद्धिका लागि सरकारले अगाडि बढाएका कार्य सफल पनि भएका छन्,’ उलने भने, ‘वर्तमान अप्ठ्यारो एवं जटिल परिस्थितिमा सरकारले गरेको कार्य ऐतिहासिक छ।’

प्रधानमन्त्री दाहालले मिटर ब्याजीहरूबाट पीडितका विषयलाई सम्बोधन गरिएको, नागरिकतासम्बन्धी समस्या समाधान गरिएको एवं सामाजिक न्याय स्थापनाका लागि भएका प्रयासहरू वर्तमान सरकारका महत्त्वपूर्ण कार्य भएको उल्लेख गरे।

भ्रष्टाचारविरुद्ध एवं सुशासनका पक्षमा गरिएको कारबाही ऐतिहासिक भएको उनले बताए। भू–माफिया एवं तस्करीकाविरुद्धको कारबाहीमा पनि सरकार खरोसँग उत्रिएको उनले स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले एनसेलका सम्बन्धमा प्रर्याप्त तथ्य, प्रमाण र तथ्याङ्क राज्यव्यवस्था समितिको बैठकमा पेस भइसकेको भन्दै नेपालको संविधानअनुसार राष्ट्र र जनताको पक्षभन्दा बाहिर कोही कसैलाई जान नदिने दृढता व्यक्त गरे।

पार्टीको नामका सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले समाजवादको भाव आउने खालको नयाँ नाम राख्नेगरी छलफल भइरहेको जानकारी दिए। उनले कोशी प्रदेशको नाममा देखिएको असहमति संवाद गरेर सहमतिद्वारा टुङ्गो लगाउने बताए।

प्रदेशको नामको विषयलाई चर्काउने भन्दा पनि सहज प्रक्रियाबाट समाधान गर्नुपर्नेमा उनको जोड थियो। प्रधानमन्त्री दाहालले विकास निर्माण तथा जनताको काम गर्नका लागि नयाँ ढङ्गबाट सरकार अगाडि बढ्ने बताउँदै यस सम्वन्धमा मन्त्रीहरूलाई लक्ष्य दिइने  र सम्पन्न नभए सोहीअनुसार निर्णय गरिने बताए।

प्रकाशित मिति: २०:३९ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्