Kathmandu Press

मधेश बलियो नभइ कांग्रेस बलियो हुँदैन : अर्थमन्त्री डा. महत

‘मधेश प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ । मधेश प्रदेशमा कांग्रेसले एक्लैले बहुमत ल्याउने परिस्थिति बनायौं भने देशैभरि कांग्रेसले बहुमत ल्याउँछ ।’
मधेश बलियो नभइ कांग्रेस बलियो हुँदैन : अर्थमन्त्री डा. महत

धनुषा, पुस ५ : अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आधारभूमि मधेश बलियो नभई कांग्रेस बलियो नहुने बताएका छन्। उनले कांग्रेस एक्लैले मधेशमा बहुमत ल्याउने आधार बनाउनुपर्ने धारणा राखेका छन्।

जनकपुरमा सुरु कांग्रेसको मधेश प्रदेश प्रथम सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले भने,‘मधेश प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ । मधेश प्रदेशमा कांग्रेसले एक्लैले बहुमत ल्याउने परिस्थिति बनायौं भने देशैभरि कांग्रेसले बहुमत ल्याउँछ ।’

आगामी चुनावमा बहुमत ल्याउन पार्टीमा एकता आवश्यकता रहेको उनले बताए। उनले भने, ‘त्यसका लागि पार्टीभित्र एकता आवश्यकता छ । आरोप–प्रत्यारोप होइन, संस्थागत निर्णय गर्ने, छलफल गर्ने र छलफलबाट जे निष्कर्ष निस्कन्छ, त्यो लिएर एक स्वरमा जनताको बीचमा जानुपर्छ।’

कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले धेरै जनप्रतिनिधि मधेशले दिएको उल्लेख गर्दै मधेश कांग्रेसको आधारभूमि भएको बताए।

अर्थमन्त्री महतले किसान खुसी पार्न आश्वासन बाँडे । अर्थतन्त्रमा निर्णायक सुधार आउने बताएका उनले मधेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्था गर्ने बताए।

‘मधेशको आठवटै जिल्लामा सिँचाइको व्यवस्था पनि कांग्रेसले नै गर्नेछ । जति पनि विकास निर्माणको प्रक्रिया अब अगाडि बढ्छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ,’ उनले भने।

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्