Kathmandu Press

संसदीय समितिमा मन्त्री किरातीको गुनासो : धाउँदा धाउँदै जुत्ता फाटेको छ 

संसदीय समितिमा मन्त्री किरातीको गुनासो : धाउँदा धाउँदै जुत्ता फाटेको छ 

काठमाडौं, पुस ५ : मन्त्री सुदन किरातीले परिणाम निस्कने गरी काम गर्ने वातावरण नै नभएको गुनासो गरेका छन्।

संसदीय समितिमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले परिणाममुखी काम गर्न नसकिएको स्वीकार गर्दै विभिन्न निकायमा धाउँदा धाउँदै जुत्ता फाटेको गुनासो गरे।

‘काम नगरे यहाँ जागिर पाक्छ, पद बच्छ काम गरे विवाद हुन्छ। काम नगरौं सलामी खाऊ, कुर्सीमा बसौं वा विवादमा काम गरौँ। यो प्रश्न नै छ। कानून हामीले कसरी बनाउने यता तीर धेरै बहस गर्नुपर्छ।’ उनले भने ‘एउटा काम गर्न थाल्नुपर्छ अख्तियारले रातो घरमा बोलाई हाल्छ, अदालत, जिल्ला अदालतमा जानै पर्छ, सार्वजनिक खरिद ऐन अनुगमन कार्यालय जानै पर्छ संसदीय समितिमा त कान समातेर उठबस गर्नै पर्छ। अनि हामीले काम कति बेला गर्ने परिणाम पनि दिनु पर्छ। धाउँदा धाउँदै जुत्ता फाटेको छ।’

त्यस्तै उनले वायुसेवा निगमको ऋण तिर्न सकिने तर काम गर्नै नदिने प्रवृतिका कारण समस्या भएको जिकिर गरे। 
‘४९ अर्ब ऋण छ निगमलाई यो व्यक्तिको लागि धेरै हो तर वायु सेवा निगम कम्पनीहरुको लागि केही पनि होइन्, चलाउने हो भने तर यहाँ काम नै गर्न पाइँदैन,’ उनले भने। 

अर्को प्रसङ्गमा उनले उनले आफूले बोलेको विषयलाई लिएर भएको आलोचनाप्रति कुनै गुनासो नभएको बताए। 
‘हिजोको कार्यक्रममा मैले बोलेको के हो भने संविधानको भावना अनुसार हामी चल्नुपर्छ, हाम्रो सांस्कृतिक धार्मिक सहिष्णुता भड्काउने कोसिस कसैले पनि गर्नु हुदैँन्। धर्म निरपेक्ष राष्ट्रमा सबै धर्महरू फूलबारीमा फूलेको फूल जस्तै हुनुपर्छ  भनेर भनेको हो। जसले यो मान्दैन त्यो देशद्रोही हो भनेर भनेको हो।’

उनले भने, ‘लोकतन्त्रमा बोल्न पाइन्छ। जसले यही संविधानमा आधारित निर्वाचन नै लडेर जितेर आएको साथीहरुले संविधानलाई नै केन्द्रमा राख्नुपर्छ जस्तो लाग्छ। यो प्रश्न पनि गैर जिम्मेवारीपूर्ण प्रश्न हो। यो नैतिकताको मात्रै प्रश्न होइन्, यो सिद्धान्तको प्रश्न हो। यस्तो प्रश्नहरू यही संविधान स्वीकार गरेर आएका मान्छेहरुले गर्नु स्वभाविक हुदैँन् जस्तो लाग्छ।’ 

 

प्रकाशित मिति: १७:१२ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्