Kathmandu Press

नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठक सकियो, के भयो छलफल?

नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठक सकियो, के भयो छलफल?

काठमाडौं, पुस ५ : नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठक सम्पन्न भएको छ। नेपालका परराष्ट्र मन्त्री एनपी साउदको अध्यक्षता तथा श्रीलंकाका परराष्ट्र मन्त्री अली साब्रीको सह अध्यक्षतामा काठमाडौंमा बैठक सम्पन्न भएको हो। 

बैठकमा नेपालको तर्फबाट मन्त्री साउद,परराष्ट्र सचिव, श्रीलंकाका लागि नेपाली राजदूत, वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा श्रीलंकाको प्रतिनिधिमण्डलमा मन्त्री साब्री, काठमाडौंस्थित श्रीलङ्काका राजदूत र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागि भएका थिए। 

बैठकमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, हवाइ उडान विस्तार गर्ने, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदान, सार्क र बिमस्टेक प्रक्रियालाई सुदृढ गर्ने लगायत क्षेत्रीय सहयोग र बहुपक्षीय फोरमहरूमा सहकार्य गर्ने एजेण्डामा छलफल बैठकपछि पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री साउदले बताए। 

छलफलका क्रममा मन्त्रीहरुले काठमाडौं–कोलम्बो हवाई सम्पर्कको सुरुवात उत्साहजनक रहेको र कोलम्बो र लुम्बिनीबीच हवाई सम्पर्कको सम्भावनाबारे छलफल भएको उनले बताए। 

उनले भने, ‘ बैठकमा द्धिपक्षीय सम्बन्धहरुको पुनरावलोकन, व्यापार र लगानीका बारेमा कुराकानी, कनेक्टिभिटी, पर्यटन, शिक्षा, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेसन जस्ता कुरामा छलफल भएको छ।’ सार्क र बिमस्टेकलाई आउँदा दिनहरुमा थप बलियो बनाउँदै लैजानेबारे पनि छलफल भएको मन्त्री साउदले बताए। 

त्यस्तै श्रीलंकाका विदेशमन्त्री अली साब्रीले दुईदेशबीच धैरै बिषयमा समानता रहेको भन्दै सहयोगको आदानप्रदानलाई प्राथमिकतामा राखिने बताए। उनले दुईदेशको सम्बन्धलाई थप प्रगाढ बनाउन शिक्षा, व्यापार, पर्यटन लगाएतका विषयम लामो समय सहकार्य गर्दै लैजाने जिकिर गरे।

उनले नेपालमा श्रीलंकाबाट लगानी गर्ने र नेपालबाट धेरै पर्यटकहरु श्रीलंकामा भित्राउने गरि सम्बन्धलाई अघि बढाउने धारणा राखे।

प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्