६ वर्षअघि बल्खुमा भएको हत्या प्रकरणका दुई आरोपी सार्वजनिक

काठमाडौं, पुस ५ : ६ वर्षअघि बल्खुमा एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ परी सार्वजनिक हुनेमा धादिङका शिवराज अधिकारी र अर्घाखाँचीका जगत विक रहेका छन्। उनीहरुलाई मकवानपुरकी अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरेको आरोप थियो।
अधिकारी भने अर्को चोरी मुद्दामा केन्द्रीय कारागारमा थुनामै रहेको जनाइएको छ। फरार रहेका विकलाई भारतबाट नेपाल आउने क्रममा गएराति त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो।
मकवानपुर घर भई काठमाडौंमा ज्यामी काम गर्ने ५० वर्षीया तिमिल्सिनाको शव २०७४ पुस ३० गते बल्खुस्थित भुवनेश्वरी मन्दिर पछाडि भेटिएको थियो।
अधिकारीले तिमिल्सिनालाई भूपू आर्मीसँग बिहे गराइदिने बहानामा पैसा र गरगहना लगाएर माछापोखरीमा बोलाई ललितपुरको कुसुन्तीमा लगेर लुटपाट गर्दै ढुंगाले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।











