स्वास्थ्य मन्त्रालय भन्छ– भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन
‘अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा छैन। त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ,’ उनले भने, ‘हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन।’
काठमाडौं, पुस ४ : सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए। उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताए।
‘अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा छैन। त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ,’ उनले भने, ‘हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन।’
अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ बताउँदै उनले कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आइसियु), अक्सिजनलगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला प्रयोग गर्न सकिने बताए।
उनका अनुसार सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्सलाई तयारी अवस्था राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ।
प्रवक्ता डा. प्रकाश बुढाथोकीले लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको बताए। उनले सबैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको सङ्क्रमणको रोकथाम खोपले गर्ने बताए।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भारतको केरलामा कोभिड–१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरेको छ।











