‘सरकारको विकल्प खोज्ने कुरै छैन’
‘कति सिट हाम्रो भागमा पर्ने हो, कुन प्रदेश र कुन क्लस्टरमा हाम्रो भाग पर्ने हो। यी कुरा टुङ्गो लागिसकेपछि हामीले मापदण्ड बनाएर उम्मेदवार चयन गर्छौं,’ अध्यक्ष नेपालले भने।
चितवन, पुस ४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताए। भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उहाँले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
सरकारले भ्रष्टाचारका केश (मुद्दा)मा चासो राखेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘सरकारले भ्रष्टाचारका विषयमा कडाइ गरेको छ, दण्डित गर्ने कदम चालेको छ भनेर प्रशंसा भएको छ।’
कामको आधारमा सरकारको प्रशंसा र आलोचना गर्ने उनले बताए। उनले काम गर्दै जाँदा आलोचना गर्नेहरु र प्रसंशा गर्नेहरु दुवै हुने बताए।
आसन्न राष्ट्रियसभाको निर्वाचनबारे उहाँले यही गठबन्धनबीच तालमेल हुने बर्ताए। गठबन्धनका दलबीच छलफल गरेर सिटको टुङ्गो लाग्ने उल्लेख गर्दै नेता नेपालले गठबन्धनबीच सिटको बाँडफाँट भएपछि आफ्नो पार्टीले उम्मेदवारका विषयमा मापदण्ड बनाउने उल्लेख गरे।
‘कति सिट हाम्रो भागमा पर्ने हो, कुन प्रदेश र कुन क्लस्टरमा हाम्रो भाग पर्ने हो। यी कुरा टुङ्गो लागिसकेपछि हामीले मापदण्ड बनाएर उम्मेदवार चयन गर्छौं,’ अध्यक्ष नेपालले भने।
पार्टीभित्र राष्ट्रियसभामा जाने व्यक्तिको कुनै कमी नभएको भन्दै उनले उम्मेदवारको लर्को लागेको बताए,
नेत्रविक्रम चन्द्र (विप्लव)लगायत नेतालाई पक्राउ पुर्जी जारी भएको विषयमा अध्यक्ष नेपालले पक्राउ पुर्जी जारी हुनु अनुचित भएको बताए। ‘हामी समाजवादी मोर्चामा पनि छौँ र गठबन्धन सरकारमा पनि छौँ, कानुनी प्रबन्धलाई पनि हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर, उहाँहरुमाथि जुन गिरफ्तार गर्ने वारेन्ट जारी भएको छ, यो अनुचित छ।’
नेपालमा आफूहरुले द्वन्द्व समाधान गर्न छलफल, परामर्श र समझदारीको बाटो अवलम्बन गर्दै आएको बताए।











