रुसी सेना कार्यरत थप एक नेपालीको मृत्यु, मृतकको संख्या ७ पुग्यो
परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको जनाएकाे छ।
काठमाडौं, पुस ४ : रुसी सेना कार्यरत थप एक नेपालीको युक्रेनसँगको युद्धको क्रममा मृत्यु भएको छ।
परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको जनाएकाे छ।
योसँगै रुसी सेनामा भर्ती भएर युद्धमा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ। यसअघि मन्त्रालयले ६ जनाको मृत्यु भएको जानकारी दिएको थियो।
मन्त्रालयले रुस युक्रेन युद्धमा संलग्न ४ जना नेपाली बन्दी अवस्थामा रहेको जनाएको छ। मन्त्रालयका अनुसार बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतिक पुन बन्दी अवस्थामा छन्।
मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।
नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूत मार्फत रुसी सरकारलाई पुनस्अनुरोध गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन पनि मन्त्रालयले रुसी सरकारलाई आग्रह गरेको छ ।











