Kathmandu Press

वर्तमान सरकारलाई गाली गर्नु गणतन्त्र मास्नु हो : मन्त्री किराती

नेपाल हिन्दु राष्ट्रमात्र कायम हुनै नसक्ने बताउँदै उनले नेपाली जनता मिलेर बसेको र धार्मिक सहिष्णुता लामो समयबाटै रहिआएकाले व्यवस्था विरोधीले चाहँदैमा हिन्दु राष्ट्र नहुने तर्क गरे।
वर्तमान सरकारलाई गाली गर्नु गणतन्त्र मास्नु हो : मन्त्री किराती

काठमाडौं, पुस ४ : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले राम्रो काम गर्दागर्दै सरकारमाथि आक्रमण भएको भन्दै नेतृत्वलाई गाली र बद्नाम गर्नु गणतन्त्र मास्नु भएको बताएका छन्।

काठमाडौंमा बुधबार आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सवलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम गरेको दाबी गर्दै आलोचना गर्नु गणतन्त्र र संविधानको बर्खिलाप हुने तर्क गरे।

‘राम्रो काम गर्दागर्दै प्रधानमन्त्रीमाथि यति ठूलो आक्रमण छ। अहिलेको सरकारको नेतृत्वलाई गाली र बद्नाम गर्नु भनेको गणतन्त्र मास्नु हो, व्यवस्था अन्त्य गर्दिनु हो,’ उनले भने, ‘व्यवस्थालाई अन्त्य गरे संविधान मासिन्छ, त्यो भनेको हामी सबैको अन्त्य हुनु हो। त्यसकारण अग्रगामी शक्तिहरुको एकता जरुरी छ।’

मन्त्री किरातीले परिवर्तन चाहने अग्रगामी शक्तिहरु एक हुन जरुरी भएको पनि उनले उल्लेख गरे। राणा शासन, पञ्चायत फालेको र मिलेर संविधान बनाएजस्तै सबै मिलेर गरिबीको अन्त्य गर्नतर्फ लाग्नुपर्ने उनले बताए।

‘एकपटक गरिबीविरुद्ध लडाईंको घोषणा गरौं। मेहनत गरौं, गल्तीहरु हाम्रो सच्याऔं। बरु जनतासँग माफी मागांै तर, गरिबीलाई फाल्नको निम्ति मिलौं न,’ उनले भने।

नेपाल हिन्दु राष्ट्रमात्र कायम हुनै नसक्ने बताउँदै उनले नेपाली जनता मिलेर बसेको र धार्मिक सहिष्णुता लामो समयबाटै रहिआएकाले व्यवस्था विरोधीले चाहँदैमा हिन्दु राष्ट्र नहुने तर्क गरे।

मन्त्री किरातीले दुर्गा प्रसाईँ नेतृत्वले केही समयअघि हिन्दु राष्ट्रको पक्षमा गरेको विरोधलाई हाफ्सिलाको संज्ञा दिए।  ‘प्राचीन इतिहासदेखि नेपाली समाज मिलेर बस्दै आएको छ । ती हाफ्सिलालाई के चिलाको ? क्रिश्चियनको घरमा हिन्दु पनि मलामी गएकै छ, हिन्दुकोमा किरात पनि मलामी गएकै छ, बुद्धिष्टहरु पनि सँगै मिलेर बसेकै छन्,’ उनले भने, ‘तर, यिनीहरु चाहिँ हामीलाई जुधाउन र लडाउनको निम्ति देशलाई बारुदभित्र हराउनको लागि लागेका छन् । तर नेपाली जनताले यसलाई अस्वीकार गर्छन।’

प्रकाशित मिति: १८:३० बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्