Kathmandu Press

सेनालाई विवादमा ल्याउने काम भएको भन्दै प्रधानसेनापति शर्माकाे आक्रोश

सेनालाई विवादमा ल्याउने काम भएको भन्दै प्रधानसेनापति शर्माकाे आक्रोश

काठमाडौं, पुस ४ :  प्रधानसेनापति प्रभुराम शर्माले पछिल्लो समय सेनालाई विवादमा ल्याउने काम भएको भन्दै आक्रोश जनाएका छन्।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानसेनापति शर्माले सेनाप्रति भ्रम सिर्जना गरि अनावश्यक विवादमा ल्याउने काम भएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

उनले ताराध्वज पाण्डेको बढुवा सिफारिसका लागि सात दिने सूचनामात्रै भएको र त्यहिबीचमा जन्ममितिको बिषय उठेको जिकिर गरे। आफ्ना कर्मचारीको उमेर कागजात हेरेर उमेर निर्धारित हुने भन्दै प्रधानसेनापति शर्माले कसैको जन्ममिति तय गर्नका लागि न्वारन गर्ने निकाय सेना नभएको स्पष्ट पारे। पाण्डेको विषयमा शैक्षिक प्रमाणपत्र जाँच गर्दा सही पाइएको उनले बताए।

त्यस्तै प्रधानसेनापति शर्माले काठमाडौं–तराई फास्ट ट्रयाक आर्थिक बिषयका कारण ढिलाई नभएको जिकिर गरे। काठमाडौं–तराई फास्ट ट्रयाकलाई सहि समयमा सम्पन्न गर्न बिद्यमान कानून बाधक रहेको भन्दै यहि अवस्था रहे २०८३ साल सम्म पनि निर्माण सम्पन्न नहुने उनले बताए। उहाले काठमाडौं–तराई फास्ट ट्रयाक नमागेको भन्दै सरकारले काम गर्ने जिम्मेवारी दिएको तर आवश्यक कानून नदिइएको धारणा राखे। 

बैठकमा समिति सदस्यहरुले बिभिन्न बहानामा काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणलाई ढिलाई गर्न नहुने धारणा राखेका थिए। समिति सदस्य रवि लामिछानेले आयोजनाका निर्माणका क्रममा अनावश्यक खर्च देखिएको बताए। आयोजना सेनाको प्रतिष्ठासंग जोडिएको र राष्ट्रिय गौरवको बिषयलाई गम्भीर रुपमा लिनुपर्ने उनले बताए।

त्यस्तै समिति सदस्य गगन कुमार थापाले काठमाडौं–तराई फास्ट ट्रयाकलाई समयमा नै सम्पन्न गर्नका लागि सरकार गम्भीर हुनुपर्ने र आयोजना अघि बढाउन देखिएका समस्या प्रधानमन्त्रीले गम्भीतापूर्वक समाधान गर्नुपर्ने धारणा राखे। त्यस्तै समिति सदस्य रघुजी पन्तले आयोजना अघि बढाउन सेनाले औल्याएको बिषयमा गम्भीर भएर समाधान केन्द्रीत हुनुपर्नेमा जोड दिए।

बैठकमा सेनाले आयोजनाको भौतिक प्रगति मात्र २८.५६ प्रतिशत पुगेको जनाएको छ। फास्ट ट्र्याकको कामलाई कुल १३ वटा प्याकेजमा विभाजन गरिएको सेनाले जनाएको छ। द्रुतमार्गमा हालसम्म ५२ अर्ब ८६ करोड रुपैयाँ खर्च भइसकेको सेनाले जानकारी गराएको छ। 

प्रकाशित मिति: १७:१४ बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्