Kathmandu Press

न्यायाधीशमाथि परेका उजुरीको छिट्टै छिनोफानो हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश श्रेष्ठले उजुरीहरुलाई प्राथमिकता दिएरै अध्ययन गरिरहेको जानकारी दिँदै न्याय परिषद्मा विचाराधीन उजुरीहरुको टुंगो चाँडै लगाउने बताए।
न्यायाधीशमाथि परेका उजुरीको छिट्टै छिनोफानो हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं, पुस ३ : प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशको कामकारबाहीलाई लिएर न्याय परिषद्मा परेका उजुरीहरुको टुंगो छिट्टै लगाउने बताएका छन्।  

गुनासो र निराशालाई भरोसामा परिणत गराउन आफूहरु काम गरिरहेको भन्दै उनले परिषद्को कामप्रति भरोसा गर्न समेत आग्रह गरे।

न्याय परिषद् दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उजुरीहरुलाई प्राथमिकता दिएरै अध्ययन गरिरहेको जानकारी दिँदै न्याय परिषद्मा विचाराधीन उजुरीहरुको टुंगो चाँडै लगाउने बताए।

‘न्यायाधीशको कामकारबाही उपर परेका उजुरीहरुको परिषद्ले प्राथमिकताका साथ अध्ययन गरिरहेको छ। अब छिट्टै नै न्याय परिषद्मा विचाराधीन उजुरीहरुको टुंगो लगाउने प्रयासमा छौं,’ उनले भने। उनले अहिले न्याय परिषदको कार्यप्रति देखिएको निरासालाई चिर्ने प्रयासमा आफूहरु परिषदसुधारको लागि काम गरिरहेको उल्लेख गर्दै भरोसा गर्न आग्रह गरे।

‘हामी परिषदप्रति रहेका निराशालाई आसा र भरोसामा बदल्नुपर्छ भन्नेमा छौं। त्यसैले केही गर्ने प्रयास गरेका छौं। यस संस्थाप्रति आशा र विश्वास जागृत गराउने प्रयासमा छौं,’ प्रधान्यायाधीश श्रेष्ठले भने, ‘संस्थाप्रतिको विश्वसनीयता अपेक्षा गरेर होइन, अपेक्षाकृत कार्य सम्पादनबाट प्रप्त हुन्छ भन्ने विश्वासका साथ काम गरिरहेका छौं। हामीप्रति भरोसा राख्न सबैलाई आग्रह गर्छु।’

उनले परिषद्को भूमिका न्यायिक सुशासनको लागि पनि उत्तिकै महत्वपूर्ण भएको बताउँदै परिषद्का क्रियाकलाप थप संवेदनशील हुनुपर्नेमा जोड दिए।

‘न्याय परिषद्को भूमिका न्यायिक सुशासनको लागि त्यत्तिकै महत्वपूर्ण छ। विभिन्न तहका अदालतमा इमान्दार, निष्ठावान र सक्षम न्यायाधीशको नियुक्ति एवं कामकारबाहीको निरन्तर अनुगमन तथा निगरानी गरी अनियमितता उपर प्रभावकारी छानबिन र कारबाहीमार्फत सुशासनको प्रत्याभूति दिलाउन न्याय परिषद्को क्रियाकलाव र संवेदनीशलता जरुरी छ,’ उनले भने ।

 

प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, पुस ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्