Kathmandu Press

राजसंस्था, हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश खारेजीको मागसहित राप्रपाले वृहत आन्दोलन गर्ने

बैठकले राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि व्यापक जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरेको हो।
राजसंस्था, हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश खारेजीको मागसहित राप्रपाले वृहत आन्दोलन गर्ने

काठमाडौं, पुस ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजसंस्था, हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि बृहत आन्दोलन गर्ने निर्णय गरेको छ ।

तीन दिनसम्म काठमाडौंमा बसेको राप्रपा केन्द्रिय कार्यसमितिको बैठकले राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि व्यापक जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरेको हो।

राप्रपाको आन्दोलन मुलुकको बिग्रदो अर्थतन्त्र, आम जनतामा बढ्दो निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन, भष्ट्रचार लगायतका जनजीविकाका मुद्दाहरुमा समेत केन्द्रीत हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

‘आन्दोलनको तयारीका लागि पुष, माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु गरिने छ,’ अध्यक्ष लिङ्देनले भने, ‘फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय भएको छ।’

बैठकले पार्टीका अध्यक्ष लिङदेनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ भने अन्य बिभिन्न समिति पनि गठन गरेको छ।

बैठकले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारहरुलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष लिङदेनले जानकारी दिए।

त्यस्तै एनसेल अजियाटाको शेयर बिक्रीमा भएको भ्रष्टाचारको राप्रपा गम्भीर विरोध गर्दछ। यस विषयमा उच्चस्तरीय छानवीन गर्न माग गरिएको उनले बताए।

राप्रपाको बैठकले प्रवास क्षेत्रको वैधानिक भूमिकालाई विस्तार गर्न वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई अध्ययन गरी प्रतिवेदन दिन जिम्मेवारी दिएको छ। 

प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, पुस ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्